काठमाडौं । पछिल्लो समय कलाकारलाई कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ । संगीतकर्मी अझै व्यस्त छन् । विभिन्न जिल्लामा हुने मेला महोत्सवमा सहभागी हुने चटारोमा उनीहरू छन् ।
दुई साताअघि टिभी पर्सनालिटी रीमा विश्वकर्माले अमेरिकादेखि भारत हुँदै नेपाल फर्किने क्रममा सकस भोगेकी थिइन् । एयर इण्डियाको कनेक्टिङ फ्लाइटमार्फत दिल्ली हुँदै काठमाडौं आउन लागेकी उनले जहाज छुटाएकी थिइन् । उनले एयर इण्डियाको व्यवस्थापन र व्यवहारप्रति दुःखेसो पोखेकी थिइन् ।
यस्तोमा, गायिका समीक्षा अधिकारीले पनि आइतबार विमान ढिलो हुँदा कार्यक्रम छुटाउनुपरेको छ । सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत अधिकारीले जहाज समयमै नउड्दा आफूले नेपालगञ्जमा हुने कार्यक्रम छुटाउनुपरेको लेखेकी छन् ।
आज पनि आफूसहितका यात्रु बिहानैदेखि एयरपोर्टमा अलपत्र परेको भन्दै उनले श्री एयरलाइन्सप्रति गुनासो पोखेकी छिन् । यसअघि पनि यही एयरलाइन्सको विमान समयमै नउड्दा नेपालगञ्जको कार्यक्रम छुटाउनुपरेको उल्लेख गर्दै समीक्षाले आज पनि बिहानैदेखि एयरपोर्टमा रहेको लेखेकी छिन् ।



